काठमाण्डौं ।
वायु प्रदूषणका कारण बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् ।
वातावरणमा सुधार आएको भन्दै सरकारले आजदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन गर्न नियर्णय गरेको हो ।
प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले जानकारी दिनुभयो ।
उहाँले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले आजदेखी सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिनुभयो ।
यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
तर वायु प्रदूषण कम हुँदै गए पनि कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजगता अपनाउन सरकारले आग्रह गरेको छ ।
मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत अतिआवश्यक मापदण्ड पालना गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता शर्माले बताउनुभयो ।
आवश्यकताका आधारमा विद्यालय सञ्चालन गर्ने अधिकार सम्वन्धित स्थानिय तहरुलाई दिइएकोले उचित निर्णय गरेर अघि बढ्न आग्रह गरिएको उहाँको भनाई छ ।
आफ्नो प्रतिकृया दिनुहोस्