काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास बिमस्टेकका सदस्य मुलुकहरूको १७ औं परराष्ट्र मन्त्रिस्तरीय बैठक आज बस्दैछ ।
श्रीलंकाले आज अपरान्ह ३ बजे भर्चुअल रूपमा आयोजना गरेको बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा बिमिस्टेक देशबीच आतंकवादविरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुने बताइएको छ । विमस्टेको आज बैठक बस्न लाग्दा विमस्टेक सदस्य राष्ट्र म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शन चर्किरहेको छ । योसँगै आजको बैठकमा म्यानमार नरसंहारबारे प्रश्न नउठ्ने निश्चित भएको छ । म्यानमार सैन्य शानकविरुद्ध प्रदर्शनमा उत्रिएका ५ सय बढी प्रदर्शनकारीले ज्यान गुमाई सकेका छन् ।
बिमस्टेकका व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जनसम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन लगायत प्राथमिकताका क्षेत्र छन् ।
तीन वर्षअघि काठमाडौमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड रहेका छन् । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्