काठमाडौं । सरकारले सीमापार जयनगर–कुर्था–जनकपुर रेलमार्ग सञ्चालनका लागि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ ।
सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल उद्घाटन गर्ने योजना अनुसार अध्यादेश ल्याउने तयारी गरेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।
धनुषाको इनरुवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो । सरकारले संसदमा रेल्वे विधेयक लगे पनि पास भएको छैन ।
संसद विघटन भएकाले तत्कालै सो विधेयक पास हुने सम्भावना नभएकाले अध्यादेश ल्याएर रेल चलाउने वातावरण तयार गर्न लागिएको प्रवक्ता भट्टराईले बताउनुभयो । अध्यादेश ल्याउन सरकारले धेरै ढिलाइ नगर्ने उहाँको भनाई छ ।
सरकारले संसदमा गएको विधेयकमा नै सामान्य हेरफेर गरेर रेल्वे अध्यादेश ल्याउने तायरी गरेको हो । मन्त्रालयले मस्यौदा तयार गरेर पठाएपछि मन्त्रिपरिषदले पारित गरे राष्ट्रपतिमार्फत अध्यादेश जारी हुनेछ ।
आफ्नो प्रतिकृया दिनुहोस्